Help

साकेला एक परिचय

साकेला एक परिचय ,

साकाला /साकेला /साकेन्वा /साकेवा विभिन्न नाम बाट चिनिने वस्तु हो भुमि देव जसमा राईका जानकार नक्छुंग वा नाक्छुंग (वैधिक तन्त्र मन्त्र मुन्धुम जानकार ) हरुले मुन्धुमी शक्तिले उत्खनन गरिन्छ | यो हेर्दा साधारण पत्थर वा ढुंगा जस्तै देखिन्छ| साकेला वास्तवमा किराँत राई हरुको प्रमुख अन्नको को सह हो भन्ने विश्वास पनि गरिन्छ|

ऐतिहासिक पृष्ठ भूमि,

एसका किम्वदन्तीहरु  धेरै छन् त्यस मध्यबाट एउटा उदाहरण प्रस्तुत गर्न यहाँ सान्दर्विक ठानेको छु  | तोयामा खियामा र हेछाकुप्पाको  तर्फबाट मात्र साकेला उत्पतिको  सानो भाग  |

“मरेको भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्‍याल चुहाउँदै आगनमा प्रबेश गर्छन र खान थाल्छन्। उता घरभित्र हेच्चाकुपाले रिभम पारुहाङ् नायम हुदै  पापापातेसुङसम्म मुदुम गाउँदै आईपुग्दा शरिरमा जोड्ले कम्प पैदा हुनथाल्छ। उनी भालासंग घर वाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुङ्धा निकाल्छन्। त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ। त्यस ढुङ्धालाई भूमेदेव साकेला मानी पूजिन्छ र त्यहि  दिन देखि साकेला भुमिदेव्को पुजा र नाँच को शुरु आत भएको भन्ने गरिन्छ |”

साकेला पुजा मुन्दुमी विधि:

किराँत राई हरुको टोल वा गाउ मिलेर प्रत्यक बैशाख महिना भित्र हरेक घरमा उभौली / हुईलुंग  पित्र (चुला पुजा) गरिन्छ | यसमा  प्रमुख भूमिका उक्त स्थानका मुल्धामी या नक्छुग्को हुनेछ |सो पुजा गर्दा चोखो( नचलाएको ) कोदोको जाँड, मकै को बोट, पुर्खाले चलाएका ऐतिहासिक हात हतियार ( खुडा तरवार ), चिनडो, अदुवा अन्य विभिन्न सामग्रीलाई सजाएर सुप्तुलुंग को वोरी परि सजाइन्छ |यो पितृ पुजा गर्दा विशेष गरेर चुलामा सबै भन्दा पछी निधन हुनेको नाम बोलाउदै क्रमश :अन्यको  नाम नछुन्गले बोलाउदै अदुवा चोखो जाँडले सुप्तुलुन्ग्को बलेको आँगो तिर हानिन्छ |

स्मरण रहोस एती बेला जो प्राकृतिक( काल गतिले) निधन भएका छन् त्यस्ताले मात्रै यो सम्मान प्राप्त गर्दछन भने अन्य अप्रातिकृतिक  निधन जस्तै ;कसैले मारेको,आत्मा हत्या गरेर मरेको, डुबेर मरेको ,अप्रेसन परेर मरेको या किराँत राईको धर्म परिवर्तन गरेर निधनभएका  आदि इत्यादी व्यक्तिहरुको  यो सुप्तुलुन्ग्मा नाम बोलाइन्दैन् | उनीहरुलाई दिनु पर्ने कुरो बाहिर दिइन्छ | नाम बोलाइन्दैन्  संयुक्त एक  नाम (चामलिंग) हिलावा ताम्रवा /भुत प्रेत को रुपमा हेरिने धार्मिक नाम बाट दिने प्रचलन छ | यसै पितृ पुजा गर्ने क्रममा ..

सबै दर दाजुभाई  लाई उक्त   पुजामा सहभागी गराइन्छ |यस्तो क्रम सबै गाउँका दाजु भाइकोमा सकिएपछि साकेला पुजाको तिथि मिति तय गरिन्छ र  रुन्ग्री ( अन्नको सह या सु-स्वस्थ धन धान्यको सक्ति ) निकाल्ने र भित्र्याउने घरको /रुन्ग्री खिमको निधो पनि गरिन्छ |

साकेला पुज्ने दिनमा रुन्ग्री खिममा सबै दर्दाजुभाई इष्ट मित्र भेला हुन्छन | उक्त रुन्ग्री खिम्मा साकेला नक्छुगले सुप्तुलुंग लाई मुन्धुमी तथा विधिवत अनुमति माग्दै साकेला थान जानको लागि  दुइ कन्या हरुलाई  रुन्ग्री बोक्न थुन्सेलाई साधारण कपडा या वार्किले ढाकेर उक्त थुन्से  बोकाएर  घर बाट निकालिन्छ र साकेला थान तिर मुल्धामी र अन्य आवश्यक ढोल झ्याम्टाका साथ् नाच्दै सबै जना पुजा गर्न प्रस्थान गरिन्छ | एसको अतिरिक्त हरेक घरबाट प्रत्यक्ले  साकेला पुज्नको लागि भाले बोकेर लगिन्छ |  साकेला थान तिर प्रस्थान गर्दा नक्छुग भन्दा अगाडी कोहि जान सक्तैन सबै मानिस नक्छुंगलाई पछ्याउनु पर्दछ | एदी कुनै व्यक्ति अगाडी गैहाले उक्त व्यक्ति तत्काल मर्छ भन्ने मुन्धुमी विश्वाश गरिन्छ | त्यसो भएकाले जाने तरिका धामी/ तोकया , रुन्ग्री बोक्ने दुइ कन्या ,मूल ढोले सिली मोपा /मोमा अनि मात्र सर्व साधारणले पछ्याउदै  अघि बढिन्छ |

पुजा स्थल वा साकेला थान्मा पुगे पछी नाक्छुङ र बुढापाका मिलेर साकेला भुमिदेव थान भित्र प्रवेश गरी पुजा आज्ञा गर्नको साथै  उक्त भुमिदेव /साकेला खनेर निकालिन्छ  र् कुखुराको भाले ले भोग दिइन्छ (यो बेला सम्पूर्ण भेग बाशी र अन्य पर पाहुना हरु साकेला थान्को ओरी परी साकेला नाँच नाच्न व्यास्त )|त्यस पछी उक्त साकेला भुमिदेव सबै दर दाजुभाइ हरुलाई सर्वजनिक गरिन्छ र् एथास्थानमै माटो भित्र पुरेरै राखिन्छ |तत पश्च्यात त्यो सकेला थान बर्ष भरिको लागि ढोका बन्द गरेर राख्नको साथै उक्त  ठाउँलाई ढुंगाको  पर्खालले घेरेर राखिन्छ |सबै पशु  प्राणिहरुलाई प्रवेश निषेध हुन्छ विशेष गरि बाख्रालाई पूर्ण निषेध गरिन्छ |तत पश्च्यात सकेला थान बाट नक्चुङ र् बुढा पाका हरुले रुन्ग्री  बोकेर पुन:  निस्किएको (अन्नको सह) रुन्ग्री खिम / घरमै लगेर भित्र्याइन्छ  |अन्य सकेला नाँच भने यथा स्थानमा जारी नै रहन्छ रात दिन र सिलिमार्ने दिन एस्को सिली विधिवत मुन्धुमी समापन  गरिन्छ र् उक्त दिन देखी अर्को बर्ष सम्मा ढोल झ्याम्टा  बजाउन सम्म पनि हुँदैन बजाउदा कुल पित्र रिसाउछन् भन्ने किराँत राईहरुको मुन्धुमी मान्यता यध्यपी छदैछ  |

किन साकेला  पूजा गरिन्छ त?

सारंशमा भन्नु पर्दा;  हामी किराँतिहारू पित्री र प्रक्रिती पूजक भएकाले हामीले त्यो बर्ष अन्न बाली सप्रियोस, सह काल होस् अनिकाल नलागोस र रोग व्यधी नलागोस भन्ने पुकार नै हो सकेला भुमी देव्लाई पूजा गर्नुको प्रमुख उदेश्य | एसका अलावा यो हाम्रो जातीय मौलिक पहिचान पनि हो |यो चाडलाई हामी सबैले निरन्तरता दिनु नै हाम्रो किराँत राईको मौलितालाई जीवन्त दिनु पनि हो |

साकेला सिलि भनेको के हो?

साकेला भनेको मुन्धुमी तन्त्र मन्त्रले उत्खनन गरेको पत्थर या ढुंगा जस्तो देखिने भुमिदेव हो भने

सिली भनेको साधारण भाषामा नाँच हो तर किराँत राईहरुको मुन्धुमी अर्थ अलिक पृथक छ | सिली भनेको नाँच भए पनि सर्व साधारणले नाचिने नाँच लाई साकेला सिली भनिन्दैन | किराँत राईहरुले नाँच्ने सिली/नाँच भनेको नितान्त पशु पन्छीहरुको नाँच या अनुकरण हो | एसका अनिरिक्त किराँत राईहरुको पौराणिक उत्पति र जीवन शैली समेत उक्त सिलिले बोलेको हुन्छ | यो साकेला सिलीलाई कुनै नृत्य प्रशिक्षकले प्रतिपादन गरेर नाचिने होइन |उदाहरणका लागि सिलिहरु;

१. तोयामा खियामा सिली = कपाश छरे देखि कपडा बुनेर ओढे सम्म

२. चासुंग सिली =अन्न बालि बिउ छर्ने देखि भित्र्याउने सम्म

३. बोखामा सिली = पृथ्वीलाई ढोग्ने सिली

४. कोकोले सिली = छेपारो को अनुकरण

५. खासिमा सिली = झिंगा को अनुकरण

६. फुइपा सिली =बादरको को अनुकरण

७. वापा वाम्मा सिली = कुखुराको भने पोथीको अनुकरण

८. क्रावा सिली = गंगटा को अनुकरण

९. कुप्पामा सिली = उपियाको अनुकरण आदि इत्यादी धेरै छन्

निष्कर्ष :

आ- आफ्नो भेग अनुसार कति ठाउँमा यो संस्कार गरिदैन एसका विविध कारण होलान |ठाउँ अनुसारको मान्ने चलन हरु पनि पृथक छन् | हुन त अहिले जहाँ तही जति बेला पनि साकेला नाचेको देख्न थालिएको छ | यो नकारात्मक भन्न त मिल्दैन तर पनि  मेरो जानकारी अनुसार  साकेला नाँच विशेष चामलिंग खोला तिर उभौलीमा मात्र नाचिन्छ वा मानिन्छ तर उधौलिमा पित्र/सुप्तुलुंग को पुजा गरिन्छ जुन नयाँ चलाउने पनि भनिन्छ र यो चाडलाई चम्लिंग्को भाषामा धिरिला उधौली या छवा पनि भनिन्छ | यो उधौलिमा साकेलाको पुजा या नाँच नाचिदैन | साधारण भाषामा वैशाखमा सहकाल होस् भनि सह भित्र्याइन्छ साकेला / भुमिदेव्को पुञ्ज गरिन्छ  भने अशोज कात्तिकमा “धन्यवाद पितृ हो अन्न फल्यो तपाईहरुले पहिला खानुहोस त्यसपछि हामी”भन्दै गरिने यो किराँत राई हरुको जातिय मौलिक पराम्परिक संस्कार हो |

आज हामी किराँत राईहरुका सन्तानहरु संसारका कुना काप्चामा फैली रहेका छौ |एस्लाई पलाएन नभनेर फैलिएको भनिए राम्रो अर्थ लाग्ला तर प्रधान कुरो भनेको हामी सबै संसारको जुनै कुनामा भए पनि किराँत राई यायोक्खा केन्द्रिय समिति नेपालको विधानमा रही  संस्थाले अंगिकार गरेको नीतिनियमलाई  अक्षरस पालना गर्दै  झण्डा,लोगो र छाँप मा आवद्ध हुन आजको प्रमुख आवश्यकता हो | यो गर्नुको प्रमुख कारण हो किराँत राई हरुको एक रुपता र एकताका लागि हो  | हामी राईहरुमा भाषाको विविधता हुनु भनेको भाषाका धनि हुनु हो र यो अनेकता हुदै होइन यो कुरो किराँत राईहरुको  सुप्तुलुंग र साकेलाले नै प्रष्ट पारिसकेको छ |

मैले जाने बुझेको साकेला सम्बन्धि सानो परिचय यहाँ हरुको सामु राख्ने जमर्को गरेकोछु | म एक साधारण व्यक्ति भएकाले गल्ति हुन सक्तछ क्षमा याचना माग्दै पढी दिनु भएकोमा अग्रिम धन्यवाद दिदै सल्लाह सुजाव समेतको अपेक्षा गर्दछु |

साभार -आफ्नै गाउँमा  आँफैले देखे सुने जानेको

धन्यवाद ?

जय किराँत राई

टिकाधन राई (हँ छाबुङ चाम्लिंग किराँत)

संयुक्त अधिराज्य वेलायत

(खोटांग दिक्तेल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.